स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ वर्ष कैद सजाय व्यवस्था गर्न सुझाव



काठमाडौं । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई तीनदेखि पाँच वर्षसम्मको कैद सजाय हुने कानूनी व्यवस्था गर्न सुझाव दिइएको छ । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई तीनदेखि पाँच वर्षसम्मको कैद सजाय हुने कानूनी व्यवस्था गर्न सुझाव दिएको हो ।

सोमबार विभाग प्रमुख खगराज अधिकारी नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशमा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो ।
यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गाली गलौज, अपमान तथा सामाजिक सञ्जालमा तथ्यहीन अफवाह फैलाउनेलाई पनि सजायको व्यवस्था हुनुपर्ने टोलीले सुझाव दिएको छ ।