लुम्बिनीमा भएको उपनिर्वाचनमा काँग्रेसका पाण्डे विजयी



काठमाडौं । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।

जम्मा २९७ मत खसेकोमा पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४ मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ २ मत बदर भएको छ ।

यसैविच उपनिर्वाचनबाट विजयी भएका पाण्डेले यो जित लोकतन्त्र र प्रजातन्त्रको जित भएको बताएका छन् । जितपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले राष्ट्रियसभामा गएर संघीयता, गणतन्त्र लगायतका मुद्दाहरूलाई सशक्त ढंगले उठाउने बताए ।

अहिलेको अवस्थामा संघीयता, गणतन्त्र लगायतका मुद्दाहरु ओझेलमा परेकाले त्यसको रक्षाका लागि राष्ट्रियसभा सदस्यको हैसियतले पहल गर्ने उनको भनाइ थियो ।