राष्ट्रियसभा उप निर्वाचनको मतदान सम्पन्न, ३ जनप्रतिनिधि अनुपस्थित



काठमाडौं । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि निर्वाचन सम्पन्न भएको छ । सोमबार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि ३ बजेसम्म भएको मतदानमा २९७ जनप्रतिनिधि मतदान गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे । यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा सहित ३ जना मतदानमा सहभागी भएनन् । मेयर शमशेरले कोरोना महामारीको समयमा मतदान प्राथमिकतामा नपरेको भन्दै मतदान बहिस्कार गरेका हुन् ।

बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह र गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा भने बिरामी भएका कारण मतदानमा सहभागी नभएको जनाइएको छ । प्रदेश सभाका भने सबै ८३ जनाले मतदान गरेका छन् ।
केहीबेरमा मतगणना सुरु हुने र आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।