चुनावमै सकिने भो ३५ अर्ब



सरकारले अध्याद्देश मार्फत ल्याएको बजेटमा आगामी निर्वाचनका लागी साढे ३५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअघि निर्वाचन आयोगका अधिकारीहरुले समग्र रुपमा दुईवटा चुनाव सम्पन्न गर्न करिब ७० अर्ब रुपैयाँ लाग्ने विश्लेषण गरेका थिए ।

तर, सरकारले यसको आधा रकम मात्रै दुईवटा चुनावका लागि छुट्याएको छ । सरकारले छुट्याएको यो रकममध्ये पनि केही रकम वैदेशिक ऋण खोजेर जुटाउनुपर्ने छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषण गर्ने क्रममा बुँदा नम्बर ४२० मा प्रतिनिधिसभा र स्थानीय तहको आगामी निर्वाचनका लागि आवश्यक रकम विनियोजन गरेको जानकारी गराए ।

यसैबीच, निर्वाचन आयोगले कात्तिक र मंसिरमा तोकिएको मध्यावधि चुनावका लागि करिब ३० अर्ब लाग्ने विश्लेषण गरेको छ । आयोगलाई मात्रै करिब साढे ८ अर्ब चाहिने र सुरक्षा निकायका लागि समेत जोड्दा ३० अर्बजति चुनाव खर्च चाहिने आयोगको दाबी छ ।