बागमती प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुदै



हेटौंडा । बागमती प्रदेशको बजेट अधिवेशन आइतबारबाट सुरु हुदै छ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइईँले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आइतबार दिउँसो ३ बजेको लागि बजेट (वर्षे) अधिवेशनको आह्वान गरेका छन्।प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले आइतबार बस्ने संसद बैठकको लागि ८ वटा सम्भावित कार्यसूची रहेको बताए।

उनले प्रदेश प्रमुखको कार्यालयबाट आएको वर्षे अधिवेशन आह्वानको पत्र र मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर बैठक सुरु गरिने बताए। त्यस्तैगरी बैठकमा सबै दलका नेताहरुले अधिवेशनको लागि शुभकामना मन्तव्य दिने पनि कार्यसूची रहेको छ।

श्रेष्ठले आइतबार प्रदेशसभा सदस्य पशुपती चौलागाईंको निधनप्रति शोक प्रस्ताव पारित गर्ने, महालेखा नियन्त्रक, लोकसेवा आयोग, महान्यायधिवक्ताको कार्यालय र विषयगत समितीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको बताए। बजेट अधिवेशनको पहिलो दिन अन्य कार्यसुची बाँकी रहेकोले सोमबार पनि बैठक आह्वान गरेर प्रि–बजेटको विषयमा छलफल गरिने श्रेष्ठको भनाइ छ।

यसअघि अविश्वासको प्रस्ताव र विपक्षी दलहरूको मोर्चाबन्दीका कारण प्रदेशसभाको सातौं अधिवेशन लगातार अवरुद्ध भएको थियो। चार पटकसम्म विपक्षी दलहरूले सदनमा अवरोध गरेपछि प्रदेश सरकारले अधिवेशन अन्त्य गरेको थियो।

असार १ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याउनुपर्ने र त्यसको १५ दिनअघि प्रि–बजेट सदनमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भएकोले आइतबारबाट सदन बोलाइएको हो।