गणतन्त्र दिवसमा प्रचंडको सुभकामना : प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रका विरोधीहरूबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । १४औं गणतन्त्र दिवसमा अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले प्रतिशोधी भावना, अंहकारी सोध र शैली गणतन्त्रवादी संस्कार हुन नसक्ने बताएका हुन् ।

उनले पारस्परिक सम्मान, सहअस्तित्व, सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वांगीण विकास सम्भव हुने बताएका छन् । त्यस्तै उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरुको पालना गर्दै आफू र आफ्नो समाजलाई सुरक्षित राख्न सबैलाई अपिल गरेका छन् ।

स्वदेशमै उपलब्ध साधनस्रोतको उचित व्यवस्थापन नहुँदा पनि नागरिकले ज्यान गुमाउनु परिरहेको उल्लेख गर्दै दाहालले कतै अस्पतालमा विद्युत आपूर्ति बन्द हुँदा संक्रमितले ज्यान गुमाइरहेका छन् भने कतै अस्पतालभित्र स्वास्थ्यकर्मी र चिकित्सकमाथि सांघातिक आक्रमण हुँदा उपचार नपाई नागरिकको ज्यान गइरहेको उल्लेख गरेका छन् । यसप्रकारका घटनाको निन्दा र भर्त्सना गर्दै अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।