आज १३ औँ गणतन्त्र दिवस मनाइँदै, दिवसको मूल समारोह सैनिक मुख्यालयमा आयोजना



काठमाडौं । आज १३ औँ गणतन्त्र दिवस मनाँइदै छ । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाउँदै छन् ।

जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ । यसैविच कोरोना संक्रमणका कारण यस वर्ष गणतन्त्र दिवसको मूल समारोह सैनिक मुख्यालय भित्र आयोजना गरिएको छ ।

विगतमा टुँडिखेलको खुल्ला चौरमा हुने गरेको गणतन्त्र दिवस मूल समारोह यस वर्ष सैनिक मुख्यालयमा खुम्चिएको हो । गणतन्त्र दिवसको मूल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली आफैं छन् ।

कार्यक्रमको चाँजोपाँजो भने गृहमन्त्रालयले मिलाउँछ । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले शनिबार बिहान सैनिक मुख्यालयमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गरिएको बताए ।

गृहका अर्का एक अधिकारीले पानी परेर कार्यक्रम प्रभावित हुने भएकाले टुँडिखेलको खुल्ला चौरमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गर्न नसकिएको तर्क गरे । जंगअड्डामा आयोजित कार्यक्रममा सीमित संख्यामा विशिष्ट अतिथिहरुलाई बोलाइएको छ ।