कोरोनाविरुद्धको खोप १० दिनभित्र आयात : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड —१९ विरुद्धको खोपबारे दश दिनभित्र ब्रेक थ्रु हुने बताएका छन् । खोपका लागि चीन र अमेरिकासँग कुटनीतिक छलफल भइरहेको भन्दै उनले अबकको १० दिन भित्र खोप आयात हुने दावी गरे ।

यो मितीमा केही तलमाथी भएपनि जतिसक्दो खोप आयात हुनेमा विश्वास व्यक्त गरे । नेपालले कोरोनाविरुद्धको खोपका लागि चीन, बेलायत, अमेरिका रुससँग औपचारिक तथा अनौपचारिक रुपमा पहल गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिएका हुन् ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको एक कार्यक्रममा खोपका विषयमा यी चार राष्ट्रमध्ये चीन र अमेरिकासँग सकारात्मक छलफल र पहल भइरहेको उनले बताए । चीनले खोप ९० राष्ट्रलाई सहयोग र व्यापारिक सम्झौतामा उपलब्ध गराएको हुँदा चीनले नेपाललाई खोप दिने विश्वास व्यक्त गरे ।

अमेरिकासँग पनि ६ करोड एस्ट्राजेनेकाको खोप स्टक भएकाले पहल भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । नेपालले पहिलो चरणमा चीनसँग ५० लाख जोड र जोनसोन एण्ड जोनसोनसँग ५० लाख जोड खरिद गर्ने उनले बताए ।