सुदुरपश्चिम प्रदेश सरकार : तीन मन्त्रीको राजीनामा, पाँच नियुक्त



काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ । अन्तरिक विवादमा परेको एमालेका तीन मन्त्रीले राजीनामा दिएका छन् भने ५ मन्त्री नियुक्त गरिएको छ ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

यसलाई लिएर विवाद भइरहेका बेला सरकारमा भएका तीन मन्त्रीले शुक्रबार दिउँसो राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिएका हुन् ।

एमालेबाट तीन मन्त्रीको राजिनामा लगत्तै ४ मन्त्री नियुक्त हुँदा संसदीय दलका नेता प्रकाशबहादुर शाह भने मन्त्रीमा दोहोरिएका छन् । मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एमालेबाट चार र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त भएका छन् । यसअघि उनले सम्हालेको आन्तरिक मामिलामा पूर्णा जोशी आएकी छन् भने दीर्घ सोडारीलाई भौतिक पूर्वाधार र लालबहादुर खड्कालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।