सुटिङ खेलाडी कल्पनालाई ओलम्पिक वाइल्ड कार्ड प्राप्त



काठमाडौँ । जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले वाइल्ड कार्ड प्राप्त गरेका छिन् । कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् ।

उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी पनि भएका छिन् । नेपाल ओलम्पिक कमिटी र नेपाल सुटिङको अथक प्रयासपछि यो वाइल्ड कार्ड प्राप्त भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले जानकारी दिए ।

अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको छ । उनले अन्य खेलमा पनि वाइल्ड कार्डका लागि प्रयास भइरहेको बताए ।

टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ र कल्पनासँगै चार खेलाडीले प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ । सहभागी हुने अन्य तीन खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोपीचन्द्र पार्की रहेका छन् ।