भेरीमा वास्थ्यकर्मीमाथि भएको आक्रमणको दोषीलाई कारबाही हुन्छ : गृह



काठमाडौं । गृह मन्त्रालयले बाँकेस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथी भएको आक्रमण गर्नेलाई कारवाही गर्ने जनाएको छ । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको हो ।

शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको छ । बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् ।

बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो, भनिएको छ ।