भेरी अस्पतालमा स्वास्थ्यकर्मीविरुद्ध आक्रमण गर्ने ३ जना पक्राउ



काठमाडौं। नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मी आक्रमणमा संलग्नमध्ये प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार आक्रमणमा संलग्न बिरामीका आफन्त दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको छ। उनीहरुलाई बाँके जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

अस्पतालका अनुसार उपचार क्रममा आफ्ना मानिस ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनीहरूलगायत ४र५ जनाको समूहले बिहीबार राति डाक्टर तथा नर्सलाई आक्रमण गरेका थिए। घटनाबारे अनुसन्धान र दोषीलाई कारबाहीका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जनाइएको छ ।