नेपालले शनिबार इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्दै



काठमाडौं । नेपालले शनिबार फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्दैछ । इराकको बसरास्थित अल फयहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ ।

नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०: १५ बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छन् । फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १ सय ७१ औं स्थानमा छ ।