आज सुरक्षित महिनावारी दिवस: विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौं । प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण भर्चुअल एवं सामाजिक सञ्जालका माध्यमबाट चेतनामूलक जागरण फैलाएर दिवस मनाइने जनाइएको छ।

महिनावारी हुनु भनेको एउटा प्राकृतिक प्रक्रिया हो। यसलाई नेपालमा केवल एक सरल जैविक प्रक्रिया नभई जटिल सामाजिक, सांस्कृतिक, पारम्परिक र सामाजिक वर्गीकरणको कारण बनेको छ। महिनावारीसँग जोडिएको सामाजिक लाञ्छनाले गर्दा रजस्वलाको बेला प्रयोग गरिने प्याडलगायत अन्य साधनबारे महिलाले खुलेर बोल्न सकेका छैनन्।

यसले गर्दा महिनावारीको साधनमा सर्वसुलभ पहुँचको अभावले पनि रजस्वलाको अनुभव, स्वास्थ्य र महिलाको स्वाभिमानलाई प्रतिकूल प्रभाव परेको छ। यसले संविधानको धारा १६ मा प्रदत्त ‘प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक’ को उल्लङ्घन गर्नुका साथै प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कानूनको बर्खिलाप रहेको महिला, कानून र विकास मञ्चले जनाएको छ।