२४ घण्टामा ६ हजार ९३९ संक्रमित थपिए, १०६ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । २४ घण्टामा थप ७ हजार २२६ जना निको भएका छन् ।

बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।