आर्थिक सर्वेक्षण शुक्रबार, बजेट शनिबार सार्वजनिक गरिने : पाँच खर्बबढी ऋणको प्रस्ताव



काठमाडौं । आर्थिक सर्वेक्षण शुक्रबार (भोली) २ बजे सार्वजनिक गरिने भएको छ । मन्त्रालयमै सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । सर्वेक्षण जुमबाट सार्वजनिक गर्ने कार्यक्रम राखिएको छ भने फोटो तथा भिडियोको लागि सिमित पत्रकारलाई अर्थमन्त्रालयको सो कार्यक्रममा प्रवेश दिने गरी तयारी गरिएको छ ।

यता जेठ १५ गतेको बजेट भने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटार बाटै सार्वजनिक गर्नेछन् । बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेका हुन् ।

सरकारले १५ दिन अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि तरल राजनीतिका कारण यो पटक नीति तथा कार्यक्रम आएन । संसद् नै नरहेपछि बाध्यात्मक अवस्था नभएकाले जेठ १५ मा अध्यादेशबाट बजेट ल्याउन नहुने धारणा आइरहेका बेला पाँच खर्ब रुपैयाँभन्दा बढी ऋण लिने गरी बजेटको गृहकार्य जारी छ ।

आगामी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी गरी बजेट ल्याउने अन्तिम गृहकार्यमा अर्थ मन्त्रालय जुटिरहेको छ । यसका लागि करिब तीन खर्ब रुपैयाँ वैदेशिक ऋण र सवा दुई खर्ब आन्तरिक ऋण लिने योजना छ । यो ऋण दूरगामी तथा रणनीतिक महत्त्वका विकास आयोजनाका लागि होइन । विगतका वर्षमा जस्तै स–साना कार्यक्रम, खोप खरिद र राजस्वले अपुग सार्वजनिक क्षेत्रमा ऋण परिचालन गर्ने सरकारको तयारी छ ।