कोभ्याक्स सुविधा अन्तरगत ल्याइने खोपमा जोनसन र अस्ट्राजेनेकाको खोप सिफारिस



काठमाडौँ । कोभ्याक्सअन्तर्गत पाइने सुविधाको खोपमा कोभिसिल्डको विकल्पमा जोनसन र अस्ट्राजेनेकाको खोप सिफारिस भएको छ । खोप सल्लाहकार समितिले अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप माग गर्न सरकारलाई सिफारिस गरेको हो ।

कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा खोपको नाम दिन जेठ १८ सम्म समय दिएको छ । नेपालले कोभ्याक्सअन्तर्गत १ करोड ३० लाख मात्रा खोप पाउनेछ । यसमध्ये ३ लाख ४८ हजार मात्रा कोभिसिल्ड खोप प्राप्त गरिसकेको छ ।

खोप सल्लाहकार समितिका सदस्य एवं स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिने र कम लागत लाग्ने खोप विकल्पमा सिफारिस गरिएको जानकारी दिए ।

अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेर भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्दै आएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप कोभ्याक्सलाई समेत तत्काल नदिइने भएपछि त्यसको विकल्प खोजिएको हो ।

प्राकृतिक प्रकोप वा महामारीका बेला तत्काल खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमा रायसल्लाह दिन राष्ट्रिय खोप सल्लाहकार समिति गठन गरिएको छ । समितिमा जनस्वास्थ्यसम्बन्धी विशेषज्ञ चिकित्सक वा वरिष्ठ बालरोग विशेषज्ञका तर्फबाट अध्यक्षमा डा. रमेशकान्त अधिकारी छन् ।

समितिको सदस्यमा मन्त्रालयको नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक, नेपाल पेडियाट्रिक सोसाइटी वा निजले तोकेको सोसाइटीका प्रतिनिधि, इपिडिमियोलोजिस्ट, जनस्वास्थ्यविज्ञ, स्वास्थ्य अर्थशास्त्री र वरिष्ठ बालरोग विशेषज्ञमध्येबाट मन्त्रालयले मनोनयन गरेका तीन जना रहने व्यवस्था छ ।
विभागका राष्ट्रिय खोप कार्यक्रमका प्रमुख सदस्य सचिव पनि छन् ।