प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि आजदेखि सुनुवाइ हुने



काठमाण्डौ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा आजदेखि सुनुवाइ हुने भएको छ।

प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर ३० रिट निवेदन दर्ता भएका छन् । त्यसको सुनुवाइ आजदेखि नियमित इजलासमा र संवैधानिक इजलासका लागि तोकिएको मुद्दा शुक्रबारदेखि सुनुवाइ हुनेछ।

अन्तरिम आदेश माग गरिएका १९ रिट निवेदनको पेशी आज र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ निवेदनको पेशी शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै २६ तथा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने र तोकिएका समयमा निर्वाचन गर्नुपर्ने विषयमा चार रिट निवेदन दर्ता भएका छन् ।

निवर्तमान प्रतिनिधिसभा १ सय ४६ सदस्यसहितका रिट निवेदनले संसद् पुनःस्थापना गर्नुपर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् । त्यस्तै प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी छुटाछुटै चार रिट निवेदन सोमबार दर्ता भएका छन्।