राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षी सीसंग फोनवार्ता : नेपाललाई १० लाख डोज खोप दिने सीको घोषणा



काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिनलाई नेपाललाई खोप खरिदमा सहजीकरण गरिदिनका लागि आग्रह गरेकी थिइन् । भण्डारीले नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि चीन सरकारले सहयोग गरेकोमा धन्यवाद दिँदै अहिले नेपाललाई थप खोप आवश्यक रहेकोले खरिदको लागि सहजीकरण गरिदिन अनुरोध गरेकी हुन् ।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र सी बीच बुधबार दिउँसो करिब ४० मिनेट कुरा भएको थियो । जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको एक असल र घनिष्ठ मित्र भएको उल्लेख गर्दै नेपाललाई सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको ढकालले जानकारी दिए ।