पछिल्लो हप्ता विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी आयो : डब्लूएचओ



काठमाडौँ । पछिल्लो हप्ता विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी आएको डब्लूएचओले जनाएको छ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)का अनुसार पछिल्लो साता विश्वभर कोरोना भाइरसको संक्रमण र मृत्युमा कमी देखिएको हो ।

पछिल्लो साता विश्वभर करिब ४१ लाखमा संक्रमण पुष्टि भएको छ भने ८४ हजारको मृत्यु भएको छ । पछिल्लो साता त्यसअघिको सातामा भन्दा संक्रमणमा १४ प्रतिशत र मृत्युमा २ प्रतिशतले कमी आएको डब्लूएचओको साप्ताहिक रिपोर्टमा उल्लेख छ ।

डब्लूएचओको तथ्यांकअनुसार युरोपेली क्षेत्रमा नयाँ केस र मृत्युमा सबैभन्दा बढी कमी आएको देखिएको छ । त्यस्तै दक्षिण–पूर्वी एसियाली मुलुकमा पनि संक्रमणमा कमी आएकाले केही राहत महसुस गरिएको छ । अमेरिकी, भूमध्यसागरीय तथा पश्चिमी प्रशान्त क्षेत्रको अवस्था भने अघिल्लो साताकै जस्तो रहेको छ ।