सिमकोटमा अज्ञात रोगले मौरी घारमै मर्न थाले



काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–७ जबुका गाउँमा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण घारमै मौरी मर्न थालेपछि किसान चिन्तित छन् ।

व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका वडा नं ७ का गोइते सिंहका २० घारमध्ये पाँच घारमा अज्ञात रोगले मौरी मरेको वीरबहादुर सिहंले जानकारी दिए अज्ञात रोगले घारभित्रै मौरी मर्न थालेपछि चिन्ता बढेको सिंहले बताए। मौरीपालन गरेका सिंहले मह र मौरीका घार बेचेर राम्रो आम्दानी हुने गरेको जानकारी बताए।

एक्कासि मौरी मर्न थालेपछि व्यवसाय नै चौपट होलाजस्तो भएको भन्दै मौरी मर्नुको कारण पत्ता नलागेको जानकारी दिए । जिल्लामा एक माना महको रु एक हजार देखि एक हजार २०० सम्म मूल्य पर्ने गरेको छ ।