राजनीतिक अभिष्ट पूरा गर्न सरकारले आतंक फैलायो : कांग्रेस



काठमाडौं । सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाएको आरोप लगाएको छ । प्रधानमन्त्री ओलीले आफ्ना अवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पूरा गर्नका लागि कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ ।

बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड– १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो ।

बैठकपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सहमहामन्त्री प्रकाशशरण महतले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोसिसमा सरकार अघि बढेको बताए ।

उनले कोभिड संक्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भर्त्सना गरेको बताए ।