बुद्धजन्मस्थलबारे पाठ्यक्रमका त्रुटि सच्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौं । गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि कतिपय मुलुकका पाठ्यक्रममा अझै यसबारे गलत कुरा समावेश गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सच्याउन ध्यानाकर्षण गराएका छन् ।

दुई हजार ५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा सन्देश दिंदै प्रधानमन्त्री ओलीले ‘यस्तो आग्रह गरेका हुन् । उनले बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको र बुद्धवादको मुहान पनि त्यही भएको बताएका छन् ।

उनले विभिन्न धार्मिक असहिष्णुता र धार्मिक संकीर्णताले बुद्धदर्शनका विरुद्ध अनेक क्रियाकलाप भएको र बुद्धका शान्तिका सन्देशलाई यस धर्तीबाटै मेटाउन खोजिएको बताएका छन् ।

उनले सन् २०२१ मा नेपालले वैशाख डेको आयोजना गर्न आफूले भियतनाममा सन् २०१९ भएको अन्तरराष्ट्रिय सम्मेलनमा प्रस्ताव गरे पनि कोभिड–१९ का कारण फरक रुपमा बुद्धजयन्ती मनाउनुपरेको स्पष्ट पारेका छन् ।