आज २५६५ औँ बुद्ध जयन्ती



काठमाडौं । आज २५६५औँ बुद्धजयन्ती । सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी बुद्धजयन्ती मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गरी मनाउने गरिएको छ ।

तर कोरोना महामारीका कारण चैत्य, गुम्बा तथा बिहारहरुमा बौद्ध भिक्षु, भिक्षुणी, लामा, गुरुमा तथा उपासक उपासिकाहरुले पूजा तथा शान्ति प्रार्थना गरी बुद्धजयन्ती मनाउँदैछन् । यस वर्ष कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । कोरोना महामारीका कारण यसपटक बुद्ध जन्मस्थलमा समेत कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन तर बुद्ध जन्मिएको मायादेवी मन्दिरमा भिक्षु, भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाहरुले पूजापाठ गर्ने र साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम छ ।

कोरोना महामारीलाई मध्यनजर गरी शान्ति प्रार्थना र दीप प्रज्वलन गर्ने कार्यक्रम मात्रै तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिए । विश्व जगत्मा शान्तिका अग्रदूत र एशियाका ताराका रूपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए ।

यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ । बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए, जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् ।सम्राट अशोकले इपू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।

‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रूपमा लिने गरेका छन् ।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार त्यागेर ज्ञानको खोजीमा लागेका थिए । छ वर्ष ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्तिपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाए ।

छत्तीस वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँच शिष्यलाई प्रवचन दिएका थिए, जसलाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ । विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।