थप कडाई गर्दै उपत्यकामा निषेधाज्ञा थप, खाद्यान्न पसल पनि बन्द हुने

विकास निर्माणका सवारी साधन पनि एक साता गुड्न नपाइने


काठमाडौँ । काठमाडौं उपत्यका थप कडाई गर्दै निषेधाज्ञा १ साता थपिएको छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको हो । मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेको छ ।

हरियो सागसब्जीको हकमा भने बिहान ९ बजेसम्म पसल खोल्न पाइने छ । विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् ।

यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ । मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइनेछ । विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्र अनुमति दिइने छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई कैद र जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको छ ।