बैंकहरु तथा वित्तीय संस्थालाई लघुवित्तको सेयर किन्न बन्देज



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई लघुवित्त वित्तीय संस्थाहरुको सेयर किन्न बन्देज लगाएको छ । राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई लघुवित्तको सेयर किन्न बन्देज लगाएको हो ।

यसैगरी अन्य कम्पनीहरुको सेयर पनि छोटो समयका लागि लगानी गर्न बैंकहरुले नपाउने भएका छन् । लघुवित्तको सेयर (१० जेठ, २०७७) सोमबारसम्म किनिसकेको भए आगामी पुस मसान्तभित्रै बिक्री गरिसक्न समेत निर्देशन दिएको छ । राष्ट्र बैंकले पहिलो पटक यस्तो बन्देज लगाएको हो ।

यस अघि बैंक तथा वित्तीय संस्थाहरुले सहजै सेयर किनबेच गरिरहेका थिए । अहिले सञ्चालनमा रहेका अधिकांश जसो बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्तमा लगानी गरेका छन् । संस्थापक सेयरको हकमा भने यो व्यवस्था लागू नहुने राष्ट्र बैंकले बताएको छ ।

निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् ।
तर, यसअघि १० जेठसम्म लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले बताएको छ ।