मालीका राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा



काठमाडौं । मालीको सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको छ । संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघका अनुसार सेनाले प्रधानमन्त्री मोक्तार औएने र राष्ट्रपति बाह नदालाई नियन्त्रणमा लिएको हो ।

सोमबार मालीको सरकार पुनर्गठन भएसँगै सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएको हो । मालीमा नौ महिनाअघि सेनाले कू गर्दै मुलुकका राष्ट्रपतिलाई पदबाट हटाएको थियो ।

त्यसपछि सोमबार सरकार पुनर्गठन भएको थियो । पुनर्गठनको क्रममा गत वर्ष भएको ‘सैन्य कू’मा संलग्न दुई वरिष्ठ सैन्य अधिकारीलाई सरकारबाट हटाइएको थियो ।

उनीहरुले पुनः सैन्य कू गर्न सक्ने आशंका बढेसँगै सरकारले उनीहरुलाई पदबाट हटाएको थियो । यो अन्तरिम सरकारमा सेनाको ठूलो प्रभाव रहेको भन्दै मानिसहरुले विरोध गर्दै आएका थिए ।