उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी



काठमाडौं । काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ ।

निषेधाज्ञा थपसहित सरकारले जारी गरेको अध्यादेश, स्वास्थ्यका मापदण्ड पालनामा भइरहेको प्रयास र थप कडाइ, अस्पतालमा अक्सिजन व्यवस्थापन लगायतका विषयमा छलफल गर्न आज दिउँसो तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बस्न लागेको जनाइएको छ ।

कोरोनाको सङ्क्रमण बढ्न थालेपछि अघिल्लो महिनाको १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका लागि लागू भएको निषेधाज्ञा त्यसपछि वैशाख २२ गते फेरि एक हप्ता थपिएको थियो ।

फेरि वैशाख ३० गते दुई हप्ता थप भएको थियो । गृह मन्त्रालयले निषेधाज्ञाको पालना गर्न र थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई यसअघि नै निर्देशन दिएको छ ।

गृह मन्त्रालयको विवरण अनुसार ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ ।