अमेरिका र बेलायतबाट एक करोड डोज खोप ल्याउने सरकारको तयारी



काठमाडौं । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशीलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ।

सरकारको प्रशासनिक निकायले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सोहीअनुसार सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य अघि बढाएको हो।

कार्यालयले अन्य मन्त्रालयसँग नियमित समन्वय गर्दै कोभिड रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन आवश्यक रणनीति अख्तियार गरी नीतिगत सुधारमा समेत जोड दिँदै आएको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सोहीअनुसार परराष्ट्र मन्त्रालयले अमेरिकाबाट ५० लाख डोज जोन्सन एन्ड जोन्सन भ्याक्सिन खरिद गर्न अमेरिकी सरकारलाई पत्राचार गरेको छ।
यस सम्बन्धमा सम्बन्धित देशको दूतावासमार्फत समन्वय भइरहेको छ। यसैगरी, बेलायत सरकारसँग ५० लाख परिमाणकै खोप ल्याउन समेत आवश्यक पहल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।