संसद पुनःस्थापना हुनेमा धुक्क छौं : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद पुनःस्थापना भएरै छोड्ने दाबी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेर फर्किने क्रममा नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित गरेको संसद विघटनको निर्णय उल्ट्याउनेमा आफूहरु ढुक्क रहेको बताएका हुन्।

उनले आफूहरु संसद्को पुनःस्थापनाको लागि पटकपटक अदालत आउनुपर्दा कर्तव्य पूरा गरेको भए पनि उत्साहित हुनुपर्ने अवस्था नरहेको सुनाए। अयोग्य र अहंकारी प्रधानमन्त्री होलान् भन्ने आफुहरुले कल्पनासमेत नगरेको भन्दै थापाले पटक पटक संसद पुनःस्थापनाको माग लिएर आउनु रहर नभएर बाध्यता भएको सुनाए।

प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरु टिप्पणीयोग्य पनि नभएको भन्दै थापाले ओलीले कांग्रेस प्रचण्डपथमा हिँड्यो भनी दिएको अभिव्यक्तिको आलोचना गरे । संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत सदस्य हुँदाहुँदै पनि प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले संसद विघटन गरेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्ती रसंसद पुनस्थापनाको माग गर्दै गठबन्धनले रिट दायर गरेको हो।