संसद विघटनविरुद्ध १४६ सांसदको हस्ताक्षर सहित विपक्षी गठबन्धनको रिट सर्वोच्चमा



काठमाडौं । प्रतिनिधिसभा  पुन:स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट पेस गरेको छ । संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत सदस्य हुँदाहुँदै पनि प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले संसद विघटन गरेको विरुद्धमा गठबन्धनले रिट दायर गरेको हो।

रिटमा संविधानधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीलाई समर्थन गरेका आधारमा सांसदहरूलाई कारबाही नगरियोस् भन्ने पनि माग गरिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको मिलिभगतमा वैकल्पिक सरकार निर्माणको प्रक्रियालाई अवरोध गराएर प्रतिनिधिसभा विघटन गरिएको गठबन्धनको ठहर छ ।

रिटमा गठबन्धनका १ सय ४६ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले नेपाल समूहका २३ र जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले हस्ताक्षर गरेका हुन्।

नेकपा एमालेको माधव नेपाल पक्षका ३ सांसदले हस्ताक्षर गरेनन्। नेपालपक्षीय गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर नगरेका हुन्।