साहित्यकार वानीरा गिरिको निधन



काठमाडौँ । साहित्यकार वानीरा गिरिको निधन भएको छ । लेखक, साहित्यकार गिरिको हृदयघातका कारण आइतबार राति निधन भएको हो । झण्डै ३ वर्षयता अल्जाइमर्स रोगबाट ग्रसित भएर घरमै आपत्कालीन स्वास्थ्य सेवा लिइरहेकी वानीरालाई ३ साताअघि कोरोना पोजिटिभसमेत देखिएको र आइतबार राति हृदयघातको आशंकामा निजामती अस्पताल लगिएको थियो ।

गिरिमा कोरोना संक्रमणसमेत यथावतै रहेकाले उनको अन्तिम संस्कारको जिम्मेवारी नेपाली सेनाले लिएको पारिवारिक स्रोतले जनाएको छ । ७६ वर्षीया गिरि उपन्यास, कविता र निबन्ध लेखनमा फरक दृष्टिकोण तथा शैलीका कारण नेपाली साहित्यमा चिनिएकी थिइन् । उनले आफूलाई मानवतावादी र प्रकृतिवादी भनेर चिनाउने गरेकी थिइन् ।

उनका ‘कारागार’, ‘निर्बन्ध’ र ‘शब्दातित सान्तनु’ उपन्यास तथा ‘मेरो आविष्कार’, ‘जीवन ः थायमरु’, ‘एउटा जिउँदो जंगबहादुर’ कविता संग्रहहरु प्रकाशित छन् । उनले ‘शब्दातीत शान्तनु’ उपन्यासका लागि २०५६ सालको साझा पुरस्कार पाएकी हुन् ।

कवि गोपालप्रसाद रिमालका कवितामाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी गिरिले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेकी थिइन् । उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला पनि हुन् । भारतको खर्साङमा जन्मे–हुर्केकी वानीरा उच्च शिक्षा लिने अवसरमा काठमाडौं आएकी थिइन् । वानीराका श्रीमान (इन्जिनियर शंकर गिरी), एक छोरा अपूर्ण र एक छोरी अपराजिता छन् ।