कोरोना संक्रमणबाट पूर्वसांसद नरेन्द्र बस्नेतको निधन



भोजपुर । पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना संक्रमणबाट निधन भएको छ। ७४ वर्षीय बस्नेतको उपचारका क्रममा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार बिहान साढे ३ बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

बस्नेत भोजपुर क्षेत्र नम्वर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए। उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत रहेका हुन्।

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक संघ संस्थामा सक्रिय थिए। बस्नेतका श्रीमती र दुई छोरा छन्।