देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग लिएर विपक्षी दल सर्वोच्च जाँदै



काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध​ विपक्षी गठबन्धनका चार दल र नेकपा (एमाले) को नेपाल खनाल समूहले सर्वोच्च अदालतमा आज मुद्दा हाल्ने भएका छन्।

यसअघि आइतबार नै रिट लिएर सर्वोच्च अदालत जाने भनिए पनि तयारी नपुगेको भन्दै सोमबारका लागि सारिएको हो।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट हाल्ने तयारी गरेका आइतबारबाट तयार भएको रिटमा सांसदले हस्ताक्षर गरेका छन्।

अहिलेसम्म कति सांसदले हस्ताक्षर गरे भने गठबन्धनले बताएको छैन। तर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १ सय ४९ भन्दा बढी सांसद पुगेको दाबी गठबन्धनको छ ।

कानुन व्यवसायीको सहयोगमा तयार पारिएको रिटमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको उल्लेख छ। देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गर्न पनि माग गरिएको छ।

त्यस्तै, प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद अधिवेशन बोलाउन अन्तरिम आदेश पनि माग गरिएको छ । रिटमा एमालेको नेपाल खनाल समूहका सांसदले पनि हस्ताक्षर गरेका छन्।