हेटौंडा अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु



हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालमा उपचाररत ४ पुरुष र एक महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ जना मकवानपुरका हुन् भने एकजना बारास्थित जितपुरसिमरा उपमहानगरपालिकाका हुन्‌।

४ जना पुरुषको शुक्रबार राति र एकजना महिलाको शनिबार बिहान मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन सागर काफ्लेले जानकारी दिए।

शुक्रबार मृत्यु हुनेमा हेटौँडा-४ का ५८ वर्षीय पुरुष, बकैया गाउँपालिका-११ का ८५ वर्षीय पुरुष, मनहरी गाउँपालिका-९ का ६२ वर्षीय पुरुष, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-२२ का ४८ वर्षीय पुरुष रहेका छन्।

त्यस्तै, शनिबार बिहान हेटौँडा–११ की ६० वर्षीया महिलाको मृत्यु भएको हो।