कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने



काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध षडयन्त्र गरेको निष्कर्ष निकालेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

‘अब लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय भएको छ । त्यसका लागि साथमा रहनुभएका अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्ने निर्णय भएको छ,’ महतले भने ।

उनले प्रतिनिधिसभा विघटनको विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय भएको जानकारी दिए । प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको निष्कर्ष निकालिएको महतले बताए ।