मध्यावधि निर्वाचन : एमालेको महाधिवेशन सर्ने निश्चित



काठमाडौं । सरकारले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गरेसँगै साविक सत्तारुढ नेकपा (एमाले) को महाधिवेशन सर्ने पक्कापक्की भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आगामी कात्तिक २६ र मंसिर ३ गते गर्नेगरी मध्यावधि चुनाव तोकेकी छिन्‌।

पार्टीभित्र विवाद चर्किरहँदा अध्यक्ष केपी शर्मा ओली समूहले गत फागुन २८ गते पार्टीको १० औँ महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने एकतर्फी निर्णय लिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा ओली पक्षमात्रै सहभागी थियो।

कात्तिक र मंसिरमा चुनाव तोकिएकाले त्यतिखेरै पार्टी महाधिवेशन आयोजना हुने सम्भावना क्षीण बनेको हो ।

नेपाली कांग्रेसले पनि १४ औँ महाधिवेशन मिति पटक-पटक सार्दै आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना गर्ने जनाएको छ।