राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारी विरुद्ध सर्बोच्चमा रिट पुगेको छ । प्रधानमन्त्रीले विश्वासको मत नलिई र राजीनामा पनि नदिई अर्को सरकारका लागि आह्वान गरिएको भन्दै सर्वोच्च अदालतमा रिट लगिएको छ । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल, नवराज पाण्डे र प्रकृति खड्काले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिट सर्वोच्चले दर्ता गर्न बाँकी रहेको जनाइएको छ ।

राष्ट्रपतिको कार्यालयको कार्य कानुनी शासनको धज्जी उडाउने भावनाबाट प्रेरित भएकोले यसले राष्ट्रलाई गहिरो संकटमा लैजाने निश्चित रहेकोले प्रथम दृष्टिमा नै उत्प्रेषणको आदेशले बदरभागी रहेको निवेदकको माग छ ।bराष्ट्रपति, राष्ट्रपतिको कार्यालयबाट भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरेका छन्।

निवेदनको टुंगो नलागेसम्म संविधानको धारा ७६ को उपधारा (५) बमोजिमको सरकार आह्वानको निर्णय हालको अवस्थामा अगाडि नबढाउन अन्तरिम आदेश दिन समेत माग गरिएको छ। राष्ट्रपति भण्डारीले शुक्रबार साँझ ५ बजेसम्ममा ७६ (५) अनुसारको सरकार गठनका लागि आह्वान गरेकी छन्।