आइपीएल र पीएसलका बाँकी खेल युएईमा हुने



काठमाडौँ । आइपीएल र पीएसलका बाँकी खेल युएईमा हुने भएको छ । पाकिस्तान अखबार दी नेशनका अनुसार गत मार्चमा रोकिएको पीएसएलका खेलहरू अब आबुधाबीमा हुने भएको हो । पाकिस्तानमा कोभिड–१९ को संक्रमणमा पर्नेको संख्यामा व्यापक वृद्धी भएपछि पीएसएल स्थगित भएको थियो ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पीएसएल जुन २० भित्र सक्ने लक्ष्य लिएको बताइएको छ । जुलाईको पहिलो साता पाकिस्तान क्रिकेट टिम इंगल्यान्ड भ्रमणमा जाने भएकाले पनि पीएसबीले टी–ट्वान्टी लिग समयमै सक्ने लक्ष्य बनाएको हो । हाल पाकिस्तानी क्रिकेट टिम विश्राममा छ । दक्षिण अफ्रिका र जिम्बावेको भ्रमणपछि पाकिस्तानी टिमले ब्रेक लिएको हो ।

आबुधाबीमा पीएसएल गर्नेबारेमा पीसीबी र युएई क्रिकेट बोर्डबीच कुराकानी भइसकेको भएपनि औपचारिकरुमा अनुमति आउन बाँकी छ । पीसीबीले चाँडै पाउने अपेक्षा गरिएको छ । १४ खेल भएपछि पीएसएल स्थगित भएको थियो । पीएसएल स्थगित हुनुअघि कराँची किंग्स छ अंकका साथ शीर्षस्थानमा थियो ।

कोभिड–१९ कै कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी खेल पनि युएईमै हुने सम्भावना छ । पपीएसएल युएईको एक शहरमा हुने भएपनि आईपीएलका खेल तीन शहरमा हुने बताइएको छ ।