सीसीएमसी बैठक, कानुनी प्रक्रियामा अड्किएर कसैको ज्यान नजाओस् : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी प्रक्रियामा अड्किएर कुनैपनि नागरिकको ज्यान जान दिन नुहने भन्दै त्यसका लागि आवश्यक निर्णय र प्रक्रिया अघि बढाउन सरोकारवाला मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएको परराष्टमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सिंहदरबारमा आइतबार प्रधानमन्त्री केपी ओलीसहित बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा नीजि क्षेत्रको समेत सहभागितामा आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

परराष्टमन्त्री ज्ञवालीका अनुसार बैठकले अक्सिजन अभाव हुन नदिन आवश्यक सवै प्रक्रिया अवलम्बन गर्ने निर्णय पनि गरेको छ । उनका अनुसार कोरोनाको समग्र विश्लेषण गरिएको बैठकमा बाधा अड्चन हटाउने तथा अक्सिजन उत्पादन बढाउने, त्यसका लागि उद्योगीहरुसँग सहकार्य गर्ने, लिक्विड अक्सिजन आयात बढाउन भारतसँग आग्रह गर्ने, सिलिण्डरहरुको व्यवस्थापन गर्ने लगायतका विषयमा छलफल भएको छ ।

मन्त्री ज्ञवालीले अक्सिजन अभाव हुन नदिन साथै चीन र ओमनबाट मगाइरहेको भन्दै आगामी दिनमा अक्सिजन अभाव हुन नदिने बताए । बैठकमा प्रधानमन्त्रीले आवश्यक स्वास्थ्य सामग्री आयात गर्न कानुन संशोधन गरेर वा क्विक रेस्पोन्स टिम गठन गरेर भएपनि प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए ।

बैठकमा स्वास्थ्य संकटकालका बारेमा समेत छलफल भएको छ । तर तुलनात्मक रुपमा स्वास्थ्य संकटकाल लगाउँदा के के काम हुन्छ भन्ने अध्ययन भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए । बैठकले समग्र स्वास्थ्य प्रणालीलाई महामारीका विरुद्ध लगाउन जरुरी भएको निश्कर्ष निकालेको छ ।