चिताबाट रुँदै उठेपछि



काठमाडौं । भारतको महाराष्ट्रमा अन्तिम संस्कार गर्ने बेला अर्थात चितामा आगो लगाएपछि महिला चिताबाट उठेकी छिन् । कोरोना भाइरसबाट संक्रमित ७६ वर्षीया महिला शकुन्तला गायकवाडलाई मृत घोषणा गरी अन्तिम संस्कारका लागि आफन्तले महाराष्ट्रको बारामती घाट लगेका थिए ।

गाउँका प्रहरी अधिकारी सन्तोष गैकवाडले महिला घाटबाट उठेपछि उपचारका लागि अस्पताल पठाइएको जनाएका छन् । महाराष्ट्रको मुधले गाउँकी ती महिलालाई आफन्तले अन्तिम संस्कार गर्न तयार हुँदा महिला रुँदै उठेकी थिइन् ।

केहि दिनअघि शकुन्तलालाई कोरोना देखिएपछि होम आइसोलेसनमा राखिएको थियो। होम आइसोलेसनमा स्वास्थ्य बिग्रिदै गएपछि परिवारले बारामती अस्पताल लगेका थिए। अस्पतालमा बेड र आईसीयू अभाव थियो। बेड र आईसीयू पाइने आशमा केही समय उनीहरुले एमबुलेन्समै राखेर कुरे।

समयमा बेड नपाएपछि शकुन्तला बेहोस भएकी थिइन्। बेहोस भएपछि आफन्तले उनलाई होसमा ल्याउन थुप्रै प्रयास गरे। तर, शकुन्तलाको शरीर शिथिल भएको थियो। अनेक प्रयास गर्दा पनि उनको शरीर चल्मलाएन। केही सीप नलागेपछि आफन्तले उनको प्राण गएको ठानेर अन्तिम संस्कारका लागि घाटमा लगेका थिए।

आफन्तले घाटमा शकुन्तलाको शरीरमा आगो लगाउन खोज्दा उनी उठेर रुँन थालेकी थिइन्।