चिनले अनुदान दिएको १८ हजार सिलिन्डर तातोपानी आइपुग्यो



काठमाडौं । चीनले नेपाललाई सहयोग गरेको १८ हजार खाली अक्सिजन सिलिन्डर तातोपानी नाका आइपुगेको छ । स्थलमार्ग हुँदै आइतबार १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको हो । सिलिन्डरको अभाव हुन थालेपछि चीन सरकारले अनुदानमा २० हजार खाली सिलिन्डर दिएको हो ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याइनेछ । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो ।

अठार हजार आइसकेपछि बाँकी १ हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ । यस्तै, आइतबारै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदै छ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो ।

शनिबार मात्र ओमानबाट गैरआवासीय नेपाली संघको सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । कोभिड–१९ का संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्न मुलुकबाट सिलिन्डर ल्याइरहेको छ ।