निषेधाज्ञाका बेला सम्बन्धित सञ्चारगृहकै परिचयपत्रले आवतजावत गर्न पाइने



काठमाडौँ । बिहीबारदेखि काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाका वेला सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा समेत सञ्चारकर्मी र कर्मचारीलाई आवतजावत गर्न दिइने भएको छ ।

अत्यावश्यक सेवाका रुपमा पत्रकार र सञ्चारकर्मी तथा सम्बद्ध मिडियामा कार्यरत कर्मचारीका लागि सञ्चारगृहबाट जारी परिचयपत्र बोकेमा आवागमनमा रोकटोक नगरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनले कामबिना अनावश्यक ओहोरदोहोर नगर्न पनि सुझाव दिए । भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले मिडिया हाउसको परिचयपत्र बोकेका सञ्चारकर्मी र कर्मचारीलाई सहज आवागमन गर्न दिन निर्देशन दिएको बताए ।

उनले फिल्डमा केही समस्या आइपरे जिल्ला प्रशासन कार्यालय र नजिकैको प्रहरी कार्यालयमा समन्वय गर्नसमेत सञ्चारकर्मीलाई अनुरोध गरे । सोमबार उपत्यकाका तीनवटै प्रशासनले निषेधाज्ञामा सूचना विभागबाट जारी प्रेस पासवाहकलाई आवागमन गर्न दिने उल्लेख गरिएको थियो ।