माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले तत्कालै केन्द्रदेखि टोलतहसम्मका कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा पेस भएको अन्तरिम विधान केन्द्रीय कमिटीमा प्रस्तावका रुपमा लैजाने निर्णय पनि गरेको छ । साथै केन्द्रीय कमिटीमा उत्पीडित दलित समुदायबाट कम्तीमा १५ प्रतिशत प्रतिनिधित्व गर्ने निर्णय पनि भएको छ ।

प्रदेश, जिल्ला र सम्बन्धित पालिकाका कमिटीमा त्यहाँ रहेको जनसंख्यामा दुई प्रतिशत थप गर्ने गरी दलित समुदायलाई विशेषाधिकारसहित सबै कमिटीमा अनिवार्य प्रतिनिधित्व गराउने निर्णय गरेको पनि नेता श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकले पार्टीको सबै कमिटीमा ४० वर्ष उमेर समूहका युवा कम्तीमा २० प्रतिशत राख्नेगरी निर्णय गरेको छ ।

पार्टीको सबै समितिका पदाधिकारीमा एक जना महिला अनिवार्य राख्ने पनि बैठकले निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।
वैचारिक, राजनीतिक विषयमा गम्भीरतापूर्वक पार्टीमा छलफल चलाउने निर्णय पनि बैठकले गरेको छ । त्यस अतिरिक्त संगठनात्मक क्षेत्रमा केही विषयमा पनि पार्टीमा व्यापक छलफल चलाउने निर्णय गरिएको श्रेष्ठले बताए ।

उनका अनुसार बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहालले देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए ।