धनगढीको कोभिड अस्थायी अस्पताल संक्रमितले भरियो, थप विरामी लिन समस्या



काठमाडौं । धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको ५५ शय्याको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

५५ शय्या रहेको कोभिड अस्पतालमा ५२ जना कोरोना संक्रमित र ३ जना शंकास्पद गरेर ५५ जनालाई राखिएकाले थप संक्रमितलाई भर्ना गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । उनका अनुसार संक्रमितमध्ये ११ जनाको आईसीयू र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै, २५ जनालाई अक्सिजन दिएर राखिएको र १३ जनालाई आवश्यकताका आधारमा अक्सिजन दिने काम भइरहेको श्रेष्ठले बताए ।

कोरोनाको पहिलो लहरमा उचित व्यवस्थापन गरेपनि अहिले जटिल प्रकृतिका संक्रमितको संख्या वृद्धि हुदै गएकाले समस्या सिर्जना हुन थालेको छ । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि स्वास्थ्य कार्यालय कैलालीले सेती प्रादेशिक अस्पताल मातहत नै रहने गरी थप ५० शय्याको अस्पताल भवन निर्माणको काम थालेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले वैशाख २ गते वाईआर कन्ट्रक्सनसँग १ करोड ४९ लाखमा ठेक्का सम्झौता गरेर कोभिड अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको जानकारी दिए ।

उनले असार २० गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने भएपनि संक्रमण तीव्र गतिमा फैलिरहेका कारण निर्धारित समय अगावै काम सक्न ताकेता गर्ने काम गरिरहेको बताए ।