प्रकाश सपुतको ‘मेरो पनि होइन र यो देश’ ?



काठमाडौं । सार्वजनिक भएको २४ घण्टामा गायक-सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ लाख ३२ हजार बढी भ्यूज बटुलिसकेको छ ।

सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गर्नुभएको छ । समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ ।

राष्ट्रव्यापी प्रतिभाको खोजी कार्यक्रममा सपुतसहितका कलाकार ‘अनागरिक समूह’ बनाएर प्रतिस्पर्धामा भाग लिएको दृश्य भिडियोको शुरुमा देखापर्छ । सपुतले  रचेको गीतमा सङ्गीत पनि उहाँले नै दिनुभएको छ । मूल स्वर सपुतकै रहेको उक्त गीतको समूहगत गायनमा उहाँलाई कलाकार देवेन्द्र बब्लु, सुनिल विकलगायतले सघाएका छन् ।

गीतको भिडियोमा हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृतिक पहिचान झल्काउने सङ्गीत र नृत्यको सम्मिश्रणसमेत देख्न सकिन्छ ।