ओली र नेपालबीचको दूरी थप बढ्यो, पार्टी गम्भीर समस्यामा फस्दै



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्झन् बढ्दै गएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको दूरी बढ्दै गएको छ । सर्वोच्च अदालत गत २३ फागुनमा गरेको फैसलापश्चात् पूर्ववत् अवस्थामा फर्किएको एमालेभित्र एकपछि अर्को विवाद बढ्दै जाँदा पार्टी गम्भीर समस्यामा फस्दै गइरहेको छ ।

संस्थापन पक्षले बैठक बसेर विभिन्न निर्णय गरेपछि त्यसमा नेता नेपाल समूहले आपति जनाउँदै आएको छ । सो समूह २ जेठ २०७५ कै अवस्थाबाट पार्टी सञ्चालन गर्नुपर्ने अडानमा छ । ओली र नेपालबीचको आआफ्नै अडानले पार्टी दुई समूहमा विभाजित देखिएको छ । एमाले स्रोतअनुसार दुवै नेताबीच कुनै सहमति नभए पार्टी आधिकारिक रूपमा दुईवटा बन्ने पक्का रहेको छ ।

ओली सहमति गर्दै नगर्ने, नेपाल झुक्दै नझुक्ने अडानले अन्ततः एमाले फुट्ने निश्चित नै भएको स्रोतको दाबी छ । ‘एकले अर्काको अस्तित्व स्विकार्नै नसक्ने रोग नेताहरूमा देखिएको छ जसले एकपछि अर्को समस्या थपेको छ,’ एमालेका एक नेताले भने ।

दुई ध्रुवमा विभाजित नेताहरूबीच दुईपटक भेटघाट भयो । ओली र नेपालबीच भएको भेटघाटले पार्टीभित्रको विवाद समाधान हुने विश्वास आम नेता–कार्यकर्ताको थियो । तर, दुवै नेता आआफ्नै अडानमै रहेकाले पार्टी फुट्ने चिन्ता बढ्दै गएको हो ।

झन्डै पाँच महिनादेखिको छलफलहीन स्थिति तोड्दै ओली र नेपालबीच छलफल भएको थियो । नागपोखरिस्थित होटल मेरियटमा ओली र नेपाल संवादमा जुटेसँगै सिंगो देशकै राजनीतिक माहोल एकाएक तात्यो । पछिल्लो समय पानी बाराबारको अवस्थामा पुगेका दुई नेता एक्कासि संवादमा जुट्दा एमाले पंक्ति उत्साहित देखिए पनि त्यो धेरै समय टिक्न सकेन ।

यो समाचार राजधानी दैनिकमा छ ।