एनएसएलमा आज विराटनगर, धनगढी र लुम्बिनी, पोखरा भिड्दै



काठमाडौँ – नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्।

दिउँसो साढे २ बजे विराटनगर सिटी एफसी र धनगढी एफसीबिच खेल हुने छ। यस्तै बेलुका साढे पाँच बजे आइतबारको दोस्रो खेलमा लुम्बिनी एफसीले पाखरा थन्डर्ससँग प्रतिस्पर्धा गर्ने छ।

यसअघि शनिबार बेलुका भएको उद्घाटन खेलमा काठमाडौँ रेजर्स विजयी भएको छ। ललिपुर सिटी एफसीलाई १–० ले पराजित गर्दै काठमाडौँले पहिलोपटक आयोजित फ्रेन्चाइज फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

काठमाडौँको जितमा ६६ औँ मिनेटमा मेसौके ओलुमोउले गरेको गोल नै निर्णायक बन्यो।अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा प्रतियोगिता भइरहेको छ।

प्रतियोगितामा विभिन्न सात शहरको नाममा रहेका टोलीबिच प्रतिस्पर्धा हुनेछ। आउँदो जेठ १ गतेसम्म हुने प्रतिस्पर्धामा काठमाडौँ रेजर्स, ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन्। प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख नगद पुरस्कार पाउने छन्।

यसैगरि उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले एक–एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई राइजिङ्ग स्टारका रुपमा पुरस्कृति गरिने आयोजकले जनाएको छ।

हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार नगद पुरस्कार पाउने छन् भने प्रत्यक खेलका इमर्जिङ्ग स्टार खेलाडीले १० हजार नगद पाउने छन्। सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने खेलको इमर्जिङ्ग खेलाडी विधामा ए क्याटगोरी र विदेशी खेलाडी सामेल हुने छैनन्।