मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्न चार विपक्षी दलको बैठक



काठमाडौं । गण्डकी प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न चार विपक्षी दलको बैठक बस्दै छ । नेपाली कांग्रेसका सांसद कुमार खड्का अविश्वास प्रस्तावबारे अन्तिम छलफल गर्न बैठक बोलाइएको बताए ।

वैशाख २ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सोही बिहान सरकारले प्रदेश सभाको सातौँ अधिवेशन अन्त्य गरिदिएको थियो ।

अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले अधिवेशन अन्त्य गरे पनि सोही दिन विपक्षी दलले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई पत्र दिएका थिए । वैशाख ६ गते प्रदेश प्रमुख अमिक शेरचनले १३ गतेलाई अधिवेशन आह्वान गरेका थिए ।

सोमबार बस्ने विशेष अधिवेशनको पहिलो बैठकमा अविश्वास प्रस्ताव टेबुल हुँदैछ । विशेष अधिवेशन भएकाले अन्य विषयमाथि छलफल नहुने र सिँधै अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुने छ।

गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेमा एक स्वतन्त्र सांसदसहित २८ सांसद छन् । पहिला राष्ट्रिय जनमोर्चाका ३ सांसदको साथ पाएको गुरुङ सरकार जनमोर्चाका सांसदले साथ छाडेपछि ढल्ने अवस्थामा आएको हो ।