यस्तो आरोप लगाउँदै टिकटकमाथि रिट दायर गरियो



काठमाडौं । बालबालिकाको तथ्याङ्क संकलन तथा दुरुपयोग गरेको आरोपमा अहिले टिकटकले अर्को कानूनी चुनौतीको सामना गर्नुपरेको छ । इङल्याण्डको बालबालिका आयोगकी पूर्वआयुक्त एन्नी लङफिल्डले टिकटकमाथि त्यस्तो आरोप लगाउँदै रिट दायर गरेकी हुन् ।

बेलायत तथा यूरोपेली युनियन क्षेत्रका लाखौं बालबालिकाकाे डेटा दुरुपयोगको हवाला दिँदै सम्बन्धित मुलुक र क्षेत्रमा लङफिल्डले मुद्दा दायर गरेकी हुन् ।यदि सो मुद्दामा टिकटकको हार हुने हो भने प्रभावित बालबालिकाहरुले हजारौं पाउण्ड क्षतिपूर्ति पाउने बताइएको छ ।

टिकटकले उक्त आरोप निराधार रहेको भन्दै त्यसको प्रतिवादमा आफू लड्ने बताएको छ ।

बालबालिकाहरुको व्यक्तिगत जानकारीहरु जस्तै फोन नम्बर, भिडियो, लोकेसन तथा बायोमेट्रिक डेटा पर्याप्त जानकारी, पारदर्शिता र आवश्यक सहमतिबिनै संकलन गर्ने गरेको आरोप टिकटकमाथि छ ।

२५ मे २०१८ देखि टिकटकको प्रयोग गर्ने बालबालिकाको हितमा पूर्वआयुक्त लङफिल्डले सो मुद्दा दायर गरेकी हुन् ।